नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ फागुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा उनले भने ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन।’
आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए। प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसंग उठाएको भन्दै जवाफमा उनले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गरेका छन्।
उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए। ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने।
