संसद सचिवालयलाई प्रचण्डको पत्र : ओलीका कामकारबाही मान्य हुँदैन

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई पार्टीले कारबाही गरिरहेको बताउँदै ओलीका पत्र र कामकारबाही मान्य नहुने बताएका छन् । संसद सचिवालयलाई बिहीबार पत्र लेख्दै प्रचण्डले ओली पार्टी सदस्य नै नरहेको भन्दै नेकपा र संसदीय दलको नाममा ओली वा अरु कसैले गरेका र गर्ने पत्राचार वा कुनै पनि कामकारबाही मान्य नहुने बताएका हुन् ।

सांसदहरू देव गुरुङ, दिनानाथ शर्मा, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठलगायत संसद सचिवालयमा पुगेर पार्टीले ओलीलाई हटाएको जानकारी पत्र बुझाएका हुन् ।



पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङले संसदीय दलका नेताको सवाल भएकाले ओलीलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद सचिवालयलाई लिखित जानकारी गराइएको बताए । उनले भने ‘संसदीय दलका नेतासँगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाइसकिएको अवस्था छ । मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति निर्देशन अनुसार संसदीय दल चल्ने खालको विधि विधान भएको हुनाले त्यही अनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरूको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराइएको अवस्था छ ।’

सम्बन्धित समाचार