नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने बताए ।
प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले भने, ‘कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं । हामी सबै विकल्पमा खुला छौं ।’
पार्टीहरु मिल्नुको विकल्प नभएको भन्दै उनले सहमति गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति नेकपा विवादमा निर्वाचन आयोगले निर्णय दिनुपर्ने बताए ।
प्रधानमन्त्री को बन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण भएको भन्दै उनले प्रतिगमनविरुद्ध अघि बढेका शक्तिहरुबीच सहमति गरी सरकार गठन गर्नुपर्नेमा जोड दिए ।

