नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् ।
अपराह्न ४ बजे डाकिएको बैठकका एजेण्डाबारे जानकारी नभएको एक मन्त्रीले जनाएका छन् । ओलीले आजको बैठकको एजेण्डा गोग्य राखेको बताइन्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नेछन् ।
सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।

