नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनानेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थायी समिति बैठक डाकेका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल बनाएका पूर्व दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रलाई पुरानै पहिचानमा रहनुपर्ने गरी फैसला सुनाएपछि प्रचण्डले पहिलोपटक माओवादी केन्द्रको कमिटी बैठक बोलाएका हुन्।
बैठक साविक माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिने सम्भावना रहेको स्रोतको दाबी छ ।
साविक एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले दर्ता गरेपनि सो नाम आफ्नो पार्टीको भएको भन्दै कम्युनिष्ट नेता ऋषि कट्टेलले सर्वोच्चमा मुद्दा हालेका थिए।
सर्वोच्चले सो नाम कट्टेलकै पार्टीको ठहर्ने फैसला गरेपछि एकता गरी सत्ता हाँकेका र चरम विवादमा फसेका पूर्व एमाले र पूर्व माओवादी फेरि पहिलेकै पहिचानमा फर्किएका हुन्।

