अर्को प्रधानमन्त्रीको खोजी गरेका छैनौं : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्रीको खोजी नभएको प्रतिक्रिया दिएका छन् । विहीवार बसेको एमालेको खनाल-नेपाल समूहको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नभएको बताएका हुन् ।

‘हामीले केही नीतिगत छलफल मात्र गरेका हौँ,’ रावलले भने, ‘अर्को प्रधानमन्त्रीको खोजी भएको छैन ।’ उनले आजको भेलालाई समूहगत या गूटगत भेला भन्न नमिल्ने दाबी गरे । ‘यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ,’ रावलले भने ।



रावलले एमाले विभाजन हुने कल्पना पनि नगरेको बताए । ‘नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘नेकपा माओवादी केन्द्रलाई पनि विभाजन गरिदिने, एमाले पनि विभाजन गरिदिने र नेपाललाई बाह्य शक्तिको खेलमैदान बनाउने, संविधानलाई पनि समाप्त गर्ने खेलको विरुद्धमा हामी छौं ।’

आजको भेलामा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका करीब एक दर्जनजति स्थायी कमिटी सदस्यहरू जम्मा भएका थिए । बुधवार खनाल नेपाल समूहले केन्द्रीय कमिटी सदस्यहरूको राय लिएको थियो । अध्यक्ष ओलीले पेलेर जाने नीति लिए देशैभर समानान्तर कमिटी बनाएर अघि बढ्ने गरी तयारी गर्न नेता नेपालले निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार