नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । नेकपा एमालेले विहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी ओलीको साथ नछाड्ने बताएका छन् ।
‘विचार, राजनीति, योजना, कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘विचार छोडियो भने विचलित भइन्छ, सांसद पद बचाउन प्रधानमन्त्रीको साथ छोड्ने पक्षमा छैनौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि उनी ओली सरकारका मन्त्री भएका थिए । फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले, माओवादी केन्द्र ब्युँताईलिएपछि मन्त्री रायमाझी अहिले एमालेको पक्षमा लागेका हुन् ।
उनले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था पनि नरहेको बताए । मन्त्री रायमाझीले प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाइहाले पनि सरकार नचल्ने बताए ।

