नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।

सैनिक अदालतले सहायकरथी पंकज कार्कीलाई यौन प्रकरणको मुद्दामा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेको छ । उनी तत्कालीन २७ नम्बर बाहिनीपति थिए । कार्कीसँग यौन प्रकरणमा जोडिएका दुईजना महिला सैनिक अधिकृत पनि बर्खास्त भएका छन् । सैनिक अदालतले उनीहरूलाई पदीय मर्यादा र सैनिक अनुशासन तथा आचरणको गम्भीर उल्लंघन गरेको ठहरसहित गत शुक्रबार सेवाबाट बर्खास्त गरेको हो ।
सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सहायकरथी कार्की र महिला अधिकृत बर्खास्त भएको पुष्टि गरे । ‘उहाँहरूलाई पदीय मर्यादा तथा सैनिक आचरण र अनुशासनविपरीतका क्रियाकलाप गरेको अभियोगमा भविष्यमा सरकारी सेवामा प्रवेश गर्न अयोग्य नहठरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो,’ प्रवक्ता पौडेलले भने, ‘फैसला उहाँहरूलाई पनि सुनाइसकिएको छ ।’
फैसला चित्त नबुझेमा उनीहरूले ३० दिनभित्र पुनरावेदन गर्न पाउनेछन् । सेनामा यौन मामिलाका कारण जागिर गुमाएका कार्की सबैभन्दा उच्च अधिकारी हुन् । जागिर गुमाएकी एकजना महिला अधिकृत सेनानी (मेजर) तहकी हुन् । अर्की महिलाबारे सेनाले केही बोलेको छैन ।
सैनिक स्रोतका अनुसार कार्की र महिला अधिकृतले आपसी सहमतिमा यौनसम्बन्ध राखेको स्वीकार गरेका छन् । सेनाले महिला अधिकृतको नाम र दर्जा गोप्य राखेको छ । ‘अनुसन्धानका क्रममा उनीहरू दुवैजनाले आपसी सहमतिमा यौनसम्बन्ध राखेको भनेका छन्, यौनदुव्र्यवहार वा शोषण नदेखिएको हुनाले जेल सजाय भएन,’ सैनिक स्रोतले भन्यो, ‘यदि यौनशोषण वा दुव्र्यवहार भएको पुष्टि हुन्थ्यो भने सहायकरथी कार्कीमाथि जेल सजाय हुन्थ्यो ।’ बर्खास्तीमा परेका सहायकरथी कार्की र दुई महिला अधिकृत विवाहित हुन् ।
सहकर्मीको उजुरीपछि गोप्य रूपमा छानबिन
दक्षिण सुडानमा कार्यरत रहँदा एकजना महिला अधिकृतसँग र त्यसपछि फर्केर सिराहास्थित २७ नम्बर बाहिनीपति रहँदा कार्की र अर्की महिला अधिकृतबीच यौनसम्बन्धको चर्चा चलेको थियो । कार्की सन् २०१८ देखि १३ महिना सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत थिए । उनी तीन वर्षअघि सहायकरथी पदमा बढुवा भएका थिए । उनको यौनसम्बन्धबारे सहकर्मीहरूले गरेको उजुरीपछि गोप्य रूपमा सेनाले छानबिन थालेको थियो । सहायकरथी कार्कीले पदीय आचरणविपरीत महिला सैनिकहरूसँग सम्पर्क राखेको थाहा पाएपछि सहकर्मीहरूले जंगी अड्डामा उजुरी दिएका थिए । त्यसपछि सेनाले छानबिन अघि बढाएको थियो ।
छानबिनका क्रममा दुवै पक्षले सहमतिका आधारमा यौनसम्बन्ध राखेको स्वीकार गरेको सैनिक स्रोतको भनाइ छ । ‘जबर्जस्तीभन्दा पनि सहमतिमा यौनसम्बन्ध राखेको देखियो, तर पदीय मर्यादा र सैनिक अनुशासनका हिसाबले यो क्षमा दिन नमिल्ने अपराध हो,’ एकजना उच्च सैनिक अधिकारीले भने, ‘प्रधानसेनापतिले भ्रष्टाचार र आचरणको मामिलामा शून्य सहनशिलताको नीति लागू गर्नुभएको छ । त्यसकारण उनीहरूमाथि यो हदसम्म कारबाही भएको हो ।’ उनीहरूमाथि सेनाले गत पुसदेखि कोर्ट अफ इन्क्वाएरी गठन गरेर छानबिन थालेको थियो । उपरथी गोकुल भण्डारीको नेतृत्वमा रहेको कोर्ट अफ इन्क्वाएरीले छानबिनका क्रममा उनीहरूले पदीय आचरण र अनुशासनविपरीतको कार्य गरेको ठहर गर्दै बर्खास्त गर्नुपर्ने ठहर गरेको थियो ।
सहायकरथी कार्की अमेरिकाबाट नेसनल डिफेन्स कलेज कोर्स गरेर फर्केका थिए । खानदानी पारिवारिक पृष्ठभूमिका उनलाई सेनामा राम्रो सम्भावना बोकेका जर्नेलका रूपमा लिइएको जानकारहरू बताउँछन् । उनी लेफ्टिनेन्ट कर्णेल हुँदा उत्कृष्ट कार्य गरेको भन्दै फास्ट ट्रयाकबाट कर्णेलमा बढुवा भएका थिए ।
यसअघि सेनाले सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाललाई भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेको थियो । भ्रष्टाचारकै अभियोगमा पाइलट उपरथी सुधीर श्रेष्ठमाथि पनि सेनाले कारबाही गरेको थियो । भ्रष्टाचार रोक्न प्रधानसेनापति पूर्णचन्द्र थापाले ओभरसाइट सेल गठन गरेका छन् । भ्रष्टाचार तथा पदीय दुरुपयोगको अभियोगमा सेनाले पछिल्ला दुई वर्षमा विभिन्न तहका २७ सय सैनिकलाई कारबाही गरेको छ ।
