नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।

अध्यक्ष केपी ओलीको एकल निर्णयबाट अरुसङ्गै बर्खास्त एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीको कार्यशैलीले अराजकताको पराकाष्ठा नाघेको बताएका छन् । केही समयअगाडि ओलीले एकलौटी ढंगबाट ईश्वर पोख्रेलबाहेकका सबै पदाधिकारीलाई खोसुवा गरेपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले ओलीले फासीवादी चरित्र देखाएको पनि बताए। ‘यो पार्टी संचालनमा फासीवादी चरित्र हो । अराजकताको पराकाष्ठा नाघ्यो’,गौतमले भने, ‘ओलीको निर्णयले कम्युनिष्ट भन्न पनि लाज लाग्ने स्थिति बन्यो ।
‘ओलीले शुक्रबार एकलौटी निर्णय गर्दै आफ्नो गुटका महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारी हटाएका थिए । गौतमले ओलीकै कारण एमालेलाई अब कम्युनिष्ट पार्टी भन्न नसकिने स्थिति बनेको भन्दै चिन्ता व्यक्त गरे ।

