कांग्रेस-जसपाबीच सत्ता समीकरणबारे छलफल, माओवादीसँग छलफलपछि सहमति गर्ने तयारी

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणका विषयमा भएको छलफल विनानिष्कर्ष सकिएको छ। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफल सकारात्मक भएपनि कुनै निष्कर्षमा नपुगिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘हतारमा निर्णय गर्नुभन्दा परिस्थिती परिपक्व भएपछि निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ, प्रवक्ता शर्माले भने, हामी माओवादी केन्द्र र उहाँहरूसँग फेरि छलफल गर्छौं।’ प्रमुख प्रतिपक्षीको अग्रसरताबाट अहिलेको संकटलाई निकास दिनुपर्ने पक्षमा जसपाले जोड दिएको प्रवक्ता शर्माले बताए ।



सत्ता समीकरणबारे जसपाबाट आएको प्रस्तावबारे पार्टी पंक्तिमा छलफल गर्ने र थप संवादपछि उपयुक्त निकासमा पुग्ने प्रवक्ता शर्माले बताए। उनका अनुसार जसपासँगको छलफलअघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पनि नेकपा माओवादी केन्द्र र जसपासँग मिलेर जानुपर्ने निश्कर्ष निकालेको थियो।

जसपाले भने आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको रिहाइलगायतका विषय राखेको अध्यक्ष महन्थ ठाकुरले बताए। सत्ता समीकरणको छलफल भएपनि कुनै सहमति नभएको र माओवादी केन्द्रसँग छलफलपछि समति गर्ने निर्णय भएको उनको भनाइ छ। जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरू सहभागी थिए।

सम्बन्धित समाचार