नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)सँग कार्यगत एकता गरेर अगाडि बढ्न प्रस्ताव गरेको छ। शनिबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको दुई दलको छलफलमा माओवादीले जसपालाई नयाँ सरकारमा मात्र नभइ चुनावसम्मै कार्यगत एकता गरेर अगाडि बढ्न प्रस्ताव गरेको छलफलमा सहभागी एक नेताले बताए।
माओवादी केन्द्रको उक्त प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको जवाफ जसपाका नेताहरुले दिएको ती नेताले जानकारी दिए। ‘नयाँ सत्ता समीकरण मात्र होइन, चुनावलाई केन्द्रबिन्दुमा राखेर कार्यगत एकता गरेर जाऊ भन्ने माओवादी केन्द्रको प्रस्ताव आएको छ’, छलफलमा सहभागी जसपाका एक नेताले भने, ‘हामी सकारात्मक छौँ भन्ने जवाफ दियौँ, थप छलफल पार्टीमा गर्छौं।’
त्यसैगरी आजको भेटमा जसपा र माओवादीका नेताहरु नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्ने विषयमा पनि सहमत भएका छन् । पदीय भगवण्डाको विषय भने तीन दलको सम्युक्त बैठक बसेर छलफल गर्ने निर्णय भएको स्रोतले बतायो ।

