
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठकमा सुरु भएको छ। बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
माओवादी केन्द्रले पार्टी छोडेर नेकपा एमालेमा गएका नेताहरुलाई आजसम्म स्पष्टीकरणसहित मूल पार्टीमा नफर्के कारवाही गर्ने भएको छ। हिजोको स्थायी कमिटी बैठकले २४ घण्टे अल्टिमेटम दिएर सरकारमा सहभागी ६ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो।
आजसम्म नफर्के कारबाही गर्ने माओवादीको तयारी छ। गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन्।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना मन्त्रीसहित २३ माओवादी नेतालाई शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।

