मैले त माओवादीसँग मिलेर सरकार ढाल्दिउँ भनेको हो, अहिलेसम्म केही निर्णय भएन: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय लागिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले उक्त शंका व्यक्त गरेका हुन्।

दुई वटा प्रदेश सरकारमा अविश्वसको प्रस्ताव आएको अवस्था र केन्द्रको केपी ओली सरकार संकटमा परेको बेला तीनै सरकार ढलाउन आफूले अपिल गरेको उल्लेख गर्दै उनले यसका सभापति उदासीन रहेको बताए। ‘मलाई पनि वास्तावमा हाम्रो सभापतिको अहिलेको उदासीनता रहस्यमय लागिरहेको छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘संसदमा सानो भूमिका भए पनि नेपालको राजनीतिमा यो पार्टीको विशिष्ट भूमिका छ र अहम भूमिका छ भन्ने मेरो भनाई छ।’



आफूले दुई वटा प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सरकार गिराउन सभापति देउवासँग दरो निर्णयका लागि आग्रह गरेको पौडेलको भनाई थियो। उनले भने, ‘एक नम्बरको सरकार पनि ढलाईदिउँ। बागमतीको सरकार पनि ढलाईदिउँ। केन्द्रको केपी ओलीको सरकार पनि गिराइदिउँ भन्ने मेरो आग्रह हो। ढुलमुले नीति लिनुहुन्न मेरो मेरो आफ्नो भनाई हो। पार्टीभित्र पनि बाहिर पनि।’

पार्टी अनिर्णयको बन्दी बन्न नहुने उनको भनाई थियो। आफू राजधानीबाहिर निस्कँदा पनि पार्टी सभापति देउवालाई फोनमार्फत सरकार ढाल्न आग्रह गरेको प्रसंग प्रस्तुत गर्दै अहिलेसम्म निर्णय नभएको देख्दा अचम्म लागेको उनले बताए।

‘यो अनिर्णयको बन्दी बन्नु हुँदैन हाम्रो पार्टी। शशांक निवासबाट फोन गरेर मैले दोधारमा बस्नु हुन्न भनेको थिए। जनता समाजवादी पार्टीले जे जे गर्छु भनेर भनेको छ हामी पनि गर्दिउँ। माओवादी केन्द्रसँग मिलेर सरकार ढाल्दिउँ भनेको हो,’ पौडेलले भने, ‘तर अहिलेसम्म केही निर्णय भएको छैन।’

कांग्रेसले केही निर्णय गर्दैन भनेर जसपाले भनिरहेको मिडियाबाट थाह पाएको उनले बताए। यस्तो अवस्थामा राजनीति उल्टो दिशामा जानसक्नेतर्फ पौडेलले सचेत गराए। ‘यस्तो अवस्थामा हामी रहिरहने हो भने राजनीति उल्टो दिशामा जान सक्छ। थरीथरीका खेलाडीहरु छन् यो देशमा राष्ट्रिय अन्तर्राष्ट्रिय। यिनीहरुको हातमा जान दिनुहुन्न।’

कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित पूर्णप्रसादरमायादेवि शान्ति पुरस्कार कास्कीका पत्रकार हिमनिधी लौडारीलाई प्रदान गरेका छन्।

सम्बन्धित समाचार