सर्वदलीय बैठक सुरु, कुन-कुन नेता सहभागी भए ?

राष्ट्रपति कार्यालय शीतलनिवासमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफल गर्नका लागि निवासमा बोलाएकी हुन् । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको थियाे ।



बैठकमा एमाले ओली समूहबाट केपी ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी छन् । कांग्रेसबाट भने शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शशांक कोइराला सहभागी छन् ।

माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् भने जसपाबाट महतन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो सहभागी छन् ।

जनमोर्चाबाट चित्रबहादुर केसी,राप्रपाबाट प्रकाश चन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी छलफलमा सहभागी छन् ।

सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएका छैनन् । ४ र ५ चैतमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहेकाले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेताद्वय नेपाल र खनाल राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नगएकाे केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार