
लामो समयको छलफलपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता समीकरणको आधारभूत सहमति जुटेको छ । यी तीन दलबीच प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र त्यो प्रस्तावमा सम्भावित प्रधानमन्त्रीको नाममा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम उल्लेख गर्ने सहमति जुटेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । माओवादीले सर्वोच्चको निर्णयपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा आएदेखि नै कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेपनि जसपाभित्र दुई धार देखिएकोले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गर्न समय लागेको थियो ।
त्यसो त जसपाभित्र अझै पनि प्रधानमन्त्री ओलीसँगै मिलेर सरकार बनाउनु पर्ने र प्रधानमन्त्रीमा आफ्नो दलले दाबी गर्नुपर्ने आवाज उठिरहेका छन् । प्रधानमन्त्री ओलीले जसपा नेता महन्त ठाकुरलाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताएपछि जसपाका केही नेताले मुख मिठ्याउँदै ओलीको समर्थन गरेका थिए । तर जसपालाई प्रधानमन्त्री बनाउँछु भन्ने ओलीको भनाई सत्ता लम्ब्याउने जाल मात्र भएको बुझेपछि जसपा कांग्रेस र माओवादीसँग सत्ता समीकरणमा जुटेको हो । जसपाले विहीबार बस्ने केन्द्रीय कमिटी बैठकले ह्वीप नै जारी गरेर यो निर्णय कार्यन्वयनमा ल्याउने भएको छ ।
राजपाले ओलीको समर्थनमा प्रधानमन्त्री पद नै पाए पनि सरकारमा जान नहुने मत बलियो भएसँगै प्रधानमन्त्रीमा शेरबहादुरलाई अगाडि सार्न तीन दल सहमत भएका हुन् । कांग्रेस माओवादी र जसपाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुअगाडि आफ्ना सांसद्हरूको हस्ताक्षर संकलन गर्ने भएका छन् । अविश्वासको प्रस्ताव असफल भएमा ओलीको सत्ता एकवर्ष थप लम्बिने भएकोले सतर्कताको साथ सो प्रस्ताव पेश गर्ने तयारी भएको स्रोतले बतायो ।
भागबण्डा बाँकी नै
कांग्रेस, माओवादी र जसपाबीच सत्ता समीकरणको आधारभूत सहमति जुटे पनि भागबण्डाको विषयमा भने छलफल हुन बाँकी नै रहेको बताइन्छ । संसद्मा हाल कांग्रेससँग ६१, माओवादीसँग ४९ र जसपासँग ३२ सांसद् रहेका छन् । यस अंकगणितकै प्रतिशतअनुसार मन्त्री पदको भागवण्डा गर्ने विषयमा यी तीन दल सहमत भएका छन् । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको बताइन्छ ।
ओलीले चलखेल गर्ने आशंका
तीन दलबीच आधारभूत सहमति भएपनि प्रधानमन्त्री ओलीले चलखेल गर्ने केही सांसद्लाई प्रभावित पार्ने हुन् कि भन्ने आशंकामा तीन दलीय गठबन्धन चिन्तित देखिन्छ । संसदमा तीन दलको सांसद् संख्या कुल १४२ हुन आउछ । बहुमतको लागि १३७ सांसद् आवश्यक हुने भएकोले ६ जनसम्म सांसद् प्रभावित भएमा अविश्वासको प्रस्ताव असफल हुने भएकोले अविश्वासको प्रस्तावअगाडि नै सबै सांसद्लाई हस्ताक्षर गर्न लगाइने भएको हो । विषेशगरी जसपाका सांसद्हरू पार्टी निर्णय कार्यन्वयनमा नलागी प्रलोभनमा पर्ने हुन् कि भन्ने आशंका कांग्रेस र माओवादीमा देखिन्छ । त्यसैले पनि जसपाको भोलि बस्ने केन्द्रीय समिति बैठकलाई कांग्रेस र माओवादीले अर्थपूर्ण रुपमा हेरेका छन् ।
जसपाका सांसद् पार्टी निर्णय कार्यन्वयनमा एकजुट भएको खण्डमा चैत महिनाभित्रै देउवा प्रधानमन्त्री बन्ने सम्भावना छ भने उता सके आफैं सत्तामा रहने वा नसके देशलाई निर्वाचनमा धकेल्ने ओलीको योजना पनि असफल हुनेछ ।

