
नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकटका सांसदहरूको भेला राखेका छन्। ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे आफूनिकट सांसदहरूलाई उपस्थित हुन उक्त समूहले भनेको थियो।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बालुवाटारमा ११ बजे बैठक बस्दैछ। उक्त बैठकमा सहभागी नहुने बताएका झलनाथ-माधव पक्षका सांसदहरूले बेग्लै बैठक गर्न लागेका हुन्।
बुधबारदेखि झलनाथ-माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। आज पनि भेला छ। आफूहरूले भेला गर्ने समयमै पारेर अध्यक्ष ओलीले सल्लाहविनै संसदीय दलको बैठक राखेको भन्दै उपस्थित नहुने उनीहरूले बताउँदै आएका छन्।

