नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ चैत ।

एमाले अध्यक्ष केपी ओली पक्षले आज संसदीय दलको बैठक डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने गरी बैठक बोलाइएको हो । एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालको समूह काठमाडौंमा राष्ट्रिय भेलाकै क्रममा छ । हिजो सुरु भेला आज सकिँदैछ । तर, त्यसअघि नै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
नियतवश आफूहरूको भेलासँग जुधाइएको भन्दै खनाल-नेपाल समूहले आज दलको बैठक सहभागी नहुने बताएको छ । एमालेको माधव समूहका सचिव योगेश भट्टराईले आफूहरूको भेलाबारे थाहा पाउँदा-पाउँदै ओलीले दलको बैठक बोलाएको बताए ।
यसैबीच, संसदीय दल बैठकमा उपस्थित नभए खनाल-नेपाल समूहका शीर्ष नेतालाई कारबाही गर्ने तयारी ओलीले गरेका उनीनिकट स्रोत बताउँछ । ‘उहाँहरू (खनाल-नेपाल)लाई संसदीय दल बैठकमा आउन आग्रह गरिएको छ’, बालुवाटारनिकट स्रोत भन्छ, ‘आउनु भएन भने कारबाही खनाल-नेपालबाटै सुरु हुन्छ ।’ ओलीले सुरुमा आफूइतर समूहका शीर्ष नेतालाई कारबाही गर्ने योजना स्रोतको दाबी छ ।

