
एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँचजना नेतालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण लिने निर्णय गरेको हो ।
उनीहरूमाथि पार्टी हितविपरीत काम गरेको आरोप लगाइएको छ । बैठकमा अध्यक्ष केपी ओलीले पार्टीमा गुटबन्दी अस्वीकार्य हुने बताएका थिए । पार्टी विधानअनुसार नचलेको भन्दै नेपाल–खनाल पक्षले बैठक बहिष्कार गरेको थियो ।
विधानविपरीत भएको एकलौटी निर्णय खारेज हुनुपर्ने, पार्टीलाई एमालेको निर्वाचित कमिटीमा फर्काउनुपर्नेलगायतका माग नेपाल–खनाल समूहको छ ।
बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हेरफेर गर्ने जिम्मेवारी अध्यक्ष केपी ओलीलाई दिएको छ । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।
साथै बैठकले प्रधानमन्त्री ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो ।

