
प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता वामदेव गौतम बालुवाटारबाट असन्तुष्टी जनाउँदै फर्किएका छन् । उनले आफ्ना कुरा राखिरहेका बेला प्रधानमन्त्री ओलीले ‘कमरेड अब छोट्याउने हो की’ भने पछि उनी ‘ल धन्यवाद छ त्यसो भए म बोल्दिन’ भन्दै बैठकबाट बाहिरिएका थिए ।
वामदेव आफ्ना कुरा राखिरहेका थिए । उनले बोल्दै गर्दा मेरा असहमति छन् भन्दै गर्दा ओलीले कुरा छोट्याउने हो कि भने । त्यसपछि वामदेव ‘ल धन्यवाद छ त्यसो भए, म बोल्दिन भन्दै उठेर हिँडे ।
गौतमले आफूलाई संसद विघटन गर्ने तयारीबारे जानकारी भएको भए संसद विघटन गर्नै नदिने, विभिन्न विकल्पहरु दिने, पार्टीलाई मिलाएर लैजाने बताउँदै ओलीका कदमप्रति असहमति रहेको बताइरहेका थिए ।
बैठकमा सहभागी एक नेताले भने, ‘रिसाउनु भएको जस्तै लागेको थियो । अरु कार्यक्रममा बोल्दा मुसुमुसु हाँस्नु हुन्थ्यो । र, हसाउने गर्नुहुन्थ्यो । तर, आज खुलेको देखिएन ।’
संसद विघटन पछि तत्कालीन नेकपाको दुबै गुटका नरही तटस्थ बसेका गौतम ओलीले आज बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका थिए ।

