सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्। शनिबार कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा बोल्दै पौडेलले कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भए पनि प्रधानमन्त्री ओलीको विकल्पमा जानुपर्ने बताए ।

राजनीतिक अन्योल भएको भन्दै उनले अन्योललाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए । उनले भने – ‘ओलीको विकल्प खोज्न कांग्रेसले संयोजकको भूमिका निर्वाह गर्नुपर्छ । कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ । अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत कांग्रेसले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो ।’



नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताए । संसदमा भएका शक्तिहरूलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ।

उनले भने – ‘अदालतको फैसलाले पाँच वर्ष नभइ चुनाव गर्ने अनुमति दिँदैन । संसद फेरि विघटन गर्ने पनि ठाउँ छैन । अहिले चुनावको कुरा गर्ने होइन । यही संसदलाई कसरी उपयोग गर्ने रु यही संसदमा भएका शक्तिहरुलाई समायोजन गर्नु अहिलेको विकल्प हो ।’

संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार