
भारतमा ४० वर्ष जेल जीवन बिताएर माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दिपक) घर फर्किएका छन् । लामो यात्राको थकानले गर्दा उनले केही नबोलेर टाउको हल्लाएर घर पुग्दा खुसी लागेको प्रतिक्रिया दिए । घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मिठाइ ख्वाउन लाग्दा पनि गुलियो खान मन नलागेको प्रतिक्रिया उनले दिए ।
छोरा फर्किएपछि उनकी आमा धनमायाले आशा मारे पनि अहिले फर्किएकाले खुसी लागको बताइन् । ४० वर्षपछि भारतको कोलकोत्तामा जेल जिवन बिताइ रहेका माई नगरपालिका १० का दिपक जैसी घर पुगेसँगै परिवारमा खुसी छाएको हो । दिपकका कान्छा भाई धर्मानन्दले परिवारमा खुसी छाएको बताए । उनले भने ‘पाँच दाजुभाईमा म मात्र वाँकी थिए, अरु दाईहरु बितिसके , दिपक दाई आएपछि सबै भन्दा बढी खुसी म छु ।’
४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइ रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकोताको उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो। अधिवक्ता हिरक सिन्हाले अदालतले बुधबार साँझ नै उनलाई तत्काल छोड्न आदेश दिए पनि केही कागजी प्रक्रिया नमिलेका कारण आज मात्र उनलाई जेल मुक्त गरिँदैछ । अदालतले छोडे पनि दिपकले छ महिनाको अन्तरमा तारेख धाउनु पर्नेछ । जेल प्रशासनको लापर्बाही र कोही आफन्त सम्पर्कमा नपुगेका कारण दिपकको विषयमा सुनुवाई नभएको पाईएको छ । सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेपछि उनलाई २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकोता जेल लगिएको थियो ।
दिपक जैसी नामले चिनिने तिम्सिना कोलकोतास्थित दमदम सेन्ट्रल जेलमा बस्दा बस्दै सेतै फुली सकेका थिए । ६६ वर्षका जैसीसँग उनका भतिज गोपाल तिम्सिनाले भेटेपछि एक महिना अघि कोलकातोस्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई जेल मुक्त गराउने काम भएको थियो ।
