
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
समसामयिक राजनीतिक घटनाक्रम र महाधिवेशनको तयारीका सम्बन्धमा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटका शीर्ष नेताहरूसँग दुई घन्टा छलफल गरेका छन् । पौडेलनिवासमा बसेको बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी र डा। मीनेन्द्र रिजाल सहभागी थिए ।
बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए । नयाँ सत्तासमीकरणका विषयमा माओवादी केन्द्र र जसपाले निर्णय नलिएको भन्दै परिपक्व परिस्थिति खोजिरहेको कांग्रेसले पनि आधिकारिक धारणा तय गरेको छैन । तर, वरिष्ठ नेता पौडेलले भने ओलीको विकल्पमा कांग्रेसले नेतृत्व गरेर नयाँ सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।
आइतबारको बैठकमा पौडेल समूहले पार्टीको महाधिवेशनको कार्यतालिका पूर्ण कार्यान्वयन, क्रियाशील सदस्यता र समायोजन विवादलगायत विषयमा समेत छलफल भएको छ ।
