
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आक्रोशित भएका छन्।
प्रचण्डले त्यस्तो भाषण गरेको भोलिपल्ट आज बिहान आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले आक्रोश पोखेका हुन्।
त्यस क्रममा उनले प्रचण्डलाई ‘डिप्रेसनमा परेको’जस्तो गम्भीर आरोप लगाउन पनि पछि परेका छैनन्। थापाले लेखेका छन्, ‘तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलौज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन।’

