
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या अभियुक्त दिनेश भट्टले आफूले हत्या नगरेको दाबी गरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि बालसुधार गृह दिपायलमा रहेका दिनेशले आफूलाई धम्की दिएर हत्या अभियोग स्वीकार गर्न लगाएकोसमेत बताएका छन् ।
उनले आफ्नो परिवारका सदस्यसँगको टेलिफोन कुराकानीमा हत्या आफूले नगरेको र हत्यामा संलग्न एक जनालाई आफूले चिन्ने बताएका छन् । दिनेशले चैत ६ गते शुक्रबार काका देवराज भट्टसँगको टेलिफोन संवादमा ती व्यक्तिले हत्यामा आफ्नो नाम दिए मार्ने धम्कीसमेत दिएको बताएका छन् ।
टेलिफोन संवादका क्रममा दिनेशले काका देवराजसँग भने, ‘दुई जना बाइक ल्याएर आएका थिए । एक जनालाई म चिन्छु र अर्को एक जनालाई चिन्न सकेन । मैले केही पनि गरेको छैन । मलाई मोबाइलको ब्याट्री निकालेर फाल्न भनेपछि ब्याट्रीमात्रै फालेको हुँ ।’
ती व्यक्तिले आफू जेल गए पनि आफ्ना मान्छे लगाएर जेलबाट निकालिदिने आश्वासन दिएकोसमेत दिनेशले टेलिफोन संवादमा बताएका छन् । उनले आफू, बुबा र भाइलाई मारिदिने धम्की दिएपछि हत्या स्वीकार गरेको पनि बताएका छन् ।
प्राप्त टेलिफोन कुराकानीको अडियोमा दिनेशले पटक-पटक घटनामा संलग्न व्यक्तिको नाम र थर समेत लिएका छन् । दिनेशका काका देवराज उक्त टेलिफोन संवादको अडियो आफू र दिनेशकै भएको पुष्टि गरेका छन् ।
तर, यसअघि प्रहरीसँगको बयानमा भने उनले हत्या गरेको स्वीकार गरेका थिए । उनले आफ्नै बुबाको रोहबरमा सरकारी वकिलको कार्यालयमा लिइएको बयानमा पनि हत्या गरेको स्वीकार गरेका थिए । हत्याका अभियुक्त दिनेश भागरथीकै गाउँका भाइ हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् ।
बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ मा शव फेला परेको थियो । भागरथीको शव लवलेक जंगलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो ।
घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमा दिनेशलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
(नोट : दिनेशले टेलिफोन संवादका क्रममा भागरथीको हत्यामा संलग्न भनेर उच्चारण गरेको व्यक्तिको नाम हटाएका छौं । संवाद अडियो लेखाजोखाबाट लिइएको हो ।)
