
सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ । आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। ०७८ सालको बिदासम्बन्धी विवरण आजै राजपत्रमा प्रकाशन गर्ने तयारी छ।
सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना, भाइटीकाको भोलिपल्ट २१ कात्तिक र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ। प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर चाडपर्वका बिदा थप गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सधैँ दिइँदै आएका अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन्।
