
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा ढाका पुगेकी छन् । उनलाई हजरत अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गरेको नेपाली राजदुताबासले जनाएको छ । राष्ट्रपतिद्वयबीच आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । वार्तापछि दुई देशका वाणिज्य र पर्यटन सचिवहरुबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ । समकक्षी हमिदले आजै राजकीय रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।
राष्ट्रपति बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको १०० औं जन्मजयन्ति तथा बंगलादेश स्वतन्त्रताको ५० औं वर्षगाँठका अबसरमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ । आजै राष्ट्रपति भण्डारीलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री डा एके अब्दुल मोमेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
बंगलादेशका राष्ट्रपति हमिदले गत बर्ष कात्तिक २६ देखि २९ सम्म नेपालको भ्रमण गरेका थिए । यसअघि बंगलादेश र नेपालका प्रधानसेनापतिहरुले एकअर्को मुलुकको औपचारिक भ्रमण पनि गरिसकेका छन् । राष्ट्रपति भण्डारीले ढाकामा नेपाल बंगलादेश सम्बन्धबारे सम्बोधन गर्ने पनि कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र बंगलादेशका आपूर्ति सचिबहरुबीच रोहनपुर सिंघाबाद रेलवे रुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । नेपालबाट वाणिज्य सचिव दिनेश भट्टराईले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोग सम्बन्धी अर्को सम्झौता हुनेछ । यसमा पनि वाणिज्य सचिब भट्टराईले नेपालका तर्फबाट हस्ताक्षर गर्नेछन् ।
दुई देशबीच पर्यटन पर्वद्धन सम्बन्धी एउटा तथा २०२२ देखि २०२५सम्म सांस्कृतिक आदनप्रदान गर्ने सम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । यी सम्झौतामा नेपालका तर्फबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिब यादब कोइरालाले हस्तार गर्ने कार्यक्रम छ ।
बंगलादेशले राष्ट्रपिताको जन्म शताब्दि तथा बंगलादेश स्वतन्त्रताको ५० औं बर्षगाठका अबसरमा ४ चैतदेखि दश दिने कार्यक्रम आयोजना गरिरहेको छ । नेपालसहित सार्क सदस्य मुलुकहरु भारत, मालदिभ्स, श्रीलंका र भूटानका शीर्ष नेतालाई बंगलादेशले निमन्त्रणा गरेको छ । राष्ट्रपति भण्डारी ढाकाबाट मंगलबार अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
