दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिन कोलकाता उच्च अदालतको आदेश

विनासुनुवाइ ४१ वर्ष जेलजीवन बिताएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी०को परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । सोमबार उच्च अदालतले दुर्गाप्रसादले ४१ वर्ष विनासुनुवाइ जेलमा बिताउँदा भोगेको मानसिक तथा शारीरिक यातनाको क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको दुर्गाप्रसादका वकिल हीरक सिन्हाले जानकारी दिए ।

उनका अनुसार अब दुर्गाप्रसादको परिवारले पश्चिम बंगाल सरकारसँग क्षतिपूर्ति माग गर्नुपर्नेछ । ‘दीपक जैसीको परिवार आर्थिक रूपमा एकदमै सीमान्तकृत छ । सामाजिक चुनौती पनि भोगेको छ,’ आदेशमा भनिएको छ, ‘कुनै पनि सुनुवाइ र प्रक्रिया नभई ४१ वर्षसम्म थुनामा रहेको कारण उनलाई क्षतिपूर्ति दिने निर्णयले सहयोग गर्छ । राज्य (पश्चिम बंगाल सरकारले)ले क्षतिपूर्ति दिनुपर्छ ।’



हत्या अभियोगमा सन् १९८० मा दार्जिलिङबाट पक्राउ परेका तिम्सिनाले ४१ वर्ष जेलजीवन बिताए । त्यो समयमा उनको मुद्दाको कुनै सुनुवाइ भएको थिएन । उनी पछिल्ला १४ वर्ष कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा थिए ।

उनीको दिमागी हालत ठीक नभएको भन्दै तत्काल रिहा गर्न उच्च अदालतले आदेश दिएपछि उनी शनिबार छुटेका हुन् । आइतबार उनी लुम्बकस्थित घरमा पुगेर ८५ वर्षीय आमा धनमायालाई पनि भेट गरेका छन् ।

सम्बन्धित समाचार