खोरबाट भागेको नरभक्षी बाघ कता गयो ? स्थानीय त्रसित

बाँके राष्ट्रिय निकुञ्जको खोरबाट नरभक्षी पाटेबाघ भागेपछि स्थानीय त्रसित बनेका छन्। एक साताअघ बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा ल्याई खोरमा थुनेर राखिएको बाघ मंगलबार राति खोरको फलामे डण्डी बंग्याएर भागेको हो।

निकुञ्ज प्रशासनले भने बाघ निकुञ्जको उत्तरतर्फको चुरे पहाड क्षेत्रको जंगलमा पुगेको जनाएको छ। धेरै मानिसलाई मारिसकेको उक्त नरभक्षी बाघ निकुञ्जको खैरीस्थित ‘टाइगर होल्डिङ सेन्टर’ को खोरबाट भागेको हो।



नरभक्षी बाघ मानव बस्तीतर्फ नगएर मानव वस्ती नभएको चुरे क्षेत्रमा गएकोले मानिसलाई कुनै जोखिम नरहेको दाबी बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले गरे। ‘खोरबाट भागेको बाघको पाइला पछ्याउँदै जाँदा मानवबस्ती नभएको उत्तरतर्फ धेरै टाढा चुरेको जंगलमा गएको पाइयो,’ न्यौपानेले भने, ‘यसबाट मानिसलाई कुनै पनि खतरा र जोखिम छैन।’

बाघ गएको क्षेत्रमा पानी तथा बासस्थानका लागि घोंचहरु प्रसस्त रहेकाले त्यो नरभक्षी बाघ पुनः फर्किएर मानव बस्ती वा मानवीय गतिविधि हुने क्षेत्रमा आउने सम्भावना नरहेको दाबी पनि न्यौपानेले गरे।

होल्डिङ सेन्टरको खोरबाटै नरभक्षी बाघ भागेपछि निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानियलाई आग्रह गरेको थियो। बाघको आक्रमणबाट गएको एक वर्षमा बर्दिया जिल्लामा मात्रै १० जनाले ज्यान गुमाइसकेका छन्। नरभक्षी बाघले विशेषगरी घाँसदाउरा लिन जंगल जाने मानिस र निकुञ्ज क्षेत्रको सडक हुँदै यात्रा गर्ने यात्रुलाई आक्रमण गर्दै आएको छ।

सम्बन्धित समाचार