नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ चैत ।

रेशम चौधरी, धनिराम चौधरी, लक्ष्मण थारूसहित थारू आन्दोलनका अगुवाहरूको रिहाइ तथा मुद्दा फिर्ताको मागसहित भएको धर्नालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा बादल माइतीघर पुगेका छन् । बादलले माइतीघर पुगेर थारू कल्याणकारिणी सभा तथा थरूहटरथारूवान संयुक्त संघर्ष समितिको धर्नालाई सम्बोधन गरेका हुन् ।
गृहमन्त्री थापाले धर्नाकारीले राखेको ब्यानरकै अगाडी सडकमा पलेटी कसेर सम्बोधन समेत गरेका थिए । आजको मन्त्रिपरिषद् बैठकबाट वार्ता टोली गठन गर्ने आश्वासन पनि गृहमन्त्री थापाले दिए ।
टीकापुर घटनाका आरोपी एवं निलम्बित सांसद रेशम चौधरी, थारू अगुवाहरू धनिराम चौधरी, लक्ष्मण थारूलगायत जेलमा छन् ।वर्तमान राजनीतिक अवस्थामा सत्ता समीकरणका लागि निर्णायक हुँदा जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको छ ।
जसपाले चौधरीको रिहाइको माग जोडतोडले गरिरहेका बेला गृहमन्त्री थापाले सडकमै पुगेर वार्ता टोली गठन गर्ने आश्वासन दिएका हुन् ।
