नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ चैत ।

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन्। थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ। एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन्।
अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन्। ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ। थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन्।
नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलापछि एमालेभित्र पनि विभाजनको रेखा कोरिन थालेको छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन्। तर योगेश भट्टराईसहित दोस्रो पुस्ताका केही नेताहरुले एकता जोगाउन लचकता अपनाउन दुवै पक्षालाई आग्रह गरिरहेका छन्।
