संसदीय दलको बैठकमा ओलीले दिए माधव नेपाल र भीम रावललाई कारबाही गर्ने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत दिएका छन् । एमाले सचेतक विशाल भट्टराईका अनुसार नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

बैठकमा ओलीले भनेका कुरा उद्धृत गर्दै भट्टराईले भने, ‘तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण आएको छ। अरू दुई जना नेताको स्पष्टीकरण आउन बाँकी छ। नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्य रहेको प्रधानमन्त्रीको भनाइ छ। यसबारे केन्द्रीय कमिटीबाटै थप निर्णय लिन्छौं भनेर उहाँले भन्नुभएको छ।’



ओलीले नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकरात्मक रहेको संसदीय दलको बैठकमा बताएका थिए। ‘प्रधानमन्त्रीले भनेको शब्द यही हो । प्राप्त भएका स्पष्टीकरण नकरात्मक र कारवाहीको भागीदार छ। बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ उनले भने ।

नेपाल र रावलले विहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका थिए। तर सुरेन्द्र पाण्डे र घनश्याम भुषालले भने स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

सम्बन्धित समाचार