नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।

नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकार परिवर्तनको लागि गृहकार्य सुरु गरेको छ । माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट एमालेको समर्थनमा तीन वर्षअघि मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका एमाले केन्द्रिय सदस्य लेखराज भट्टले प्रदेश सरकारले अपेक्षाकृत काम नगरेकाले सरकार परिवर्तनको लागी छलफल सुरु गरिने बताए ।
५३ सदस्य रहेको प्रदेश सभामा एमाले एक्लैसंग २५ सांसद छन् । प्रदेश सभामा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका १४ र राजपासंग २ जना सांसद छन् । त्यसमध्ये सभामुख एमालेको छ भने उपसभामुख माओवादी केन्द्रसँग छ ।
सरकार गठनका लागि एमालेलाई राजपाको समर्थन भए पुग्ने अवस्था छ । एमाले केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य झपट बोहराले आफ्नो दलको नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु भएको बताए । ‘हामीले नयाँ सरकार गठनको लागि छलफल सुरु गरेका छौं, एक दुई दिनमा नै केही परिणाम निस्केला ।’ बोहराले भने ।
उनले प्रदेश सरकार गठनका लागि सबै विकल्पमा छलफल सुरु गरिएको समेत बताए । प्रदेश सरकार गठन र एमाले संसदीय दलको नेता परिवर्तनको लागि एमाले सुदुरपश्चिम प्रदेशका नेताहरुले पार्टीभित्र छलफल सुरु गरेका छन् । त्यसका लागी प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक कर्णबहादुर थापा अहिले धनगढीमा छन् ।
