नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मृत्युप्रति देशभरका पार्टी कार्यालयमा रहेको पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले भोलिदेखि तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको हो।
चैत १७ गते एक दिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ। नेता जोशीको शव श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा राखिने नेतृ पुष्पा भुषालले जानकारी दिइन्।
‘२ बजेसम्म उहाँको शव पार्टीका कार्यलयमा श्रद्धाञ्जलीका लागि राखिन्छ। त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन्छ’ उनले भनिन्।
बैठकले शोक प्रस्तावसमेत पारित गरेको उनले बताइन्। नेता जोशीको शुक्रबार राति मृत्यु भएको थियो। ५७ वर्षीय जोशीलाई एक महिना अघि फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोही अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो।
