नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

आजदेखि मेलम्चीको पानी उपभोक्ताको घर–घरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबार देखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौं पठाइने, त्यसमध्ये काठमाडौं उपत्यका खाने पानी लिमिटेड (केयूकेएल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्ने र केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुने बताएका छन् । उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने छ ।
यता काठमाडौं उपत्यका खाने पानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने सो पाइपको परीक्षण मात्र भएको र हाल पिउन नमिल्ने बताएका छन् । परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पिउन मिल्ने उनले बताए । गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलो मिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।
