नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ ।
संसदको विधेयक अधिवेशन १७ पुसभित्र सुरु हुनुपर्थ्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा संसद नै विघटन भयो । दुई महिना लामो बहसपछि सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटनलाई बदर गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन सरकारको नाममा परमादेश जारी गर्यो ।
त्यसअनुसार २३ फागुनदेखि सुरु भएको अधिवेशनमा ५ वटा वैठक बस्यो, जुन औपचारिकमा सीमित रह्यो । अब अर्को बैठक १८ चैतमा बोलाइएको छ । अब एकाध बैठक बसेर अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ । वैशाखबाट बजेट अधिवेशन शुरु गर्नुपर्ने भएकाले चालु अधिवेशन अन्त्यको तयारी भएको सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुअघि ‘प्रि–बजेट’ छलफल गर्ने अभ्यास छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुन्छ । वर्षे अधिवेशनको मुख्य प्राथमिकमता नीति तथा कार्यक्रम र बजेट पास गर्नु नै हुन्छ । यद्यपि केही विधेयकहरु पनि हुनसक्छन् ।
