नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भए पनि अझै १७ वटा राष्ट्रिय गौरवका आयोजनाको काम अधुरै रहेको स्मरण गराएका छन् । मेलम्चीको पानी काठमाडौं ल्याउन ५० वर्ष लागेको भनेर जनस्तरबाट नेतृत्वको आलोचना भइरहँदा पूर्व प्रधानमन्त्री भट्टराईले यसको जसअपजस सम्बन्धित सबैले लिनुपर्नेसमेत बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् भट्टराईले आफू प्रधानमन्त्री हुँदा घोषित १७ राष्ट्रिय गौरवका आयोजनामध्ये अझै १६ वटाको काम सकिन बाँकी रहेको स्मरण गराएका छन् ।
‘अन्तत: मेलम्चीको पानी काठमाडौंका धारामा झर्नु खुशीको कुरा हो,’ भट्टराई ट्वीटरमा लेखेका छन्, ‘पचास वर्षदेखिको सपना, २० वर्षको उतारचढाव र रू ३० अर्ब खर्चपछि आयोजना पूरा हुँदा सम्बन्धित सबैले जसअपजस पाउने नै छन् । त्यसमा माथापच्ची नगरौं मेरो पालामा घोषित १७ राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६ वटा बाँकी छन्। ती पूरा गरौं, अनि हाँसौँ !’
