नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।

सरकारले २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषण पाउने व्यक्तिलाई यही चैत २७ मा विभूषित गर्ने भएको छ। यसअघि नै विभूषण प्रदान गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण समयमै विभूषण प्रदान गर्न सकिएको थिएन।
गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै महाउज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रवल जनसेवा श्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री प्राप्त गर्नेहरुलाई चैत २७ गते बिहान १० बजे शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा विभूषित गरिने भएकाले उपस्थितिका लागि आह्वान गरेको छ।
राष्ट्रपति कार्यालयमा उपस्थित हुन चैत १८ देखि २५ गतेसम्म गृह मन्त्रालयको विभूषण शाखामा आफ्नो परिचयपत्रसहित सम्पर्क गरी सुशोभन समारोहको प्रवेशपत्र लिन अनुरोध गरेको छ।

