नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा बदर गरिदिएपछि आज प्रचण्ड सर्वोच्च पुगेका हुन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त फैसला गरेको थियो। फैसलासँगै एक भएका दुई पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए। पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो ।
साथै ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट छन्। यसै क्रममा प्रचण्डले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानुनविद्सँग परामर्श गरेका थिए। सोही परामर्शपछि पुनरवलोकनको निवेदन लिएर प्रचण्ड सर्वोच्च पुगेका हुन्।
