बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बाेलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ता हुने

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध टेबल भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। प्रदेशका पूर्वमन्त्री एवं मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक अरुण नेपालले मंगलवार प्रस्ताव फिर्ता लिनेसम्बन्धी सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

पौडेलविरुद्ध गत पुस १० गते ४५ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव पेश गरिएको थियो। अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गर्दै पेश गरिएको अविश्वासको प्रस्ताव सर्वोच्चको फागुन २३ को फैसलाले बिथोलिदिएको थियो। त्यही कारण देखाउँदै प्रदेश सभा सदस्य अरुण नेपालले अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएको जनाएका छन्।



‘नयाँ परिस्थिति सिर्जना भएकोले प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधनसहित)को नियम ६७ को उपनियम(१) को प्रतिबन्धात्मक वाक्यांक बमोजिम हामीले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धी सूचना यस सचिवालयमा दर्ता गर्दछौं,’ प्रदेश सभा सचिवालयमा नेपालले दर्ता गरेको सूचनामा भनिएको छ।

आजका लागि मुख्य मन्त्री पौडेलले संसदीय दलको बैठकसमेत बोलाएका छन्। यही बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएको छ। माओवादी केन्द्रको सल्लाहपछि अविश्वासको प्रस्ताव फिर्ता विधिवत रुपमा फिर्ता हुने प्रदेश सभा सदस्य प्रेम पुलामिले बताए।

सम्बन्धित समाचार