निर्वाचन नभए यो सरकार नै बाँकी २ वर्ष चल्छ: बस्नेत

पूर्व मन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए ।

प्रेस चौतारी पाँचथरले बुधवार बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले ३ दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसद्मा पेश हुन नसक्ने अवस्थाले संसद्ले प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए ।



‘कि त यो सरकार नै बाँकी २ वर्ष चल्छ वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ,’ बस्नेतले दावी गर्दै भने, ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।’ उनले कम्युनिस्ट आन्दोलन भित्रका विकृति र विसंगतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।

‘जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न,’ बस्नेतले भने, ‘कारवाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।’ पत्रकार भेटघाटमा राष्ट्रिय युवा संघका अध्यक्ष बच्चनबहादुर सिंहले संघले युवाहरूलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने बताए ।

सम्बन्धित समाचार