नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।

माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु निकट नेताहरुसंग सरकारलाई दिएको समर्थनबारे छलफल सुरु गरेका छन् । प्रचण्डले नेताहरु वर्षमान पुन,पम्फा भुसाल र जनार्दन शर्मालगायतसंग सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल गरेको स्रोतको दावी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासंग प्रचण्डले बुधवार नयाँ सरकार गठनका विषयमा छलफल गरेका थिए । तर, देउवाले नयाँ सरकार गठनबारे रुची नदेखाएपछि प्रचण्ड निरास बनेको बताइन्छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी सरकार भनेपनि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले सरकारलाई भने समर्थन गरिरहेको छ । जनस्तरमा माओवादीको दोहोरो भुमिकालाई लिएर आलोचना भएपछि सरकारलाई समर्थन फिर्ता लिनेबारे माओवादीभित्र छलफल चलेको हो ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता आजै लिन सक्ने स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनअघि सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका थिए । प्रचण्डले मंगलबार नै पुर्व प्रधानमन्त्री बावुराम भट्टराईसँग समेत छलफल गरेका थिए । नयाँ सरकार गठनका लागी प्रचण्डले मधेशवादी दल र कांग्रेसका नेताहरुसँग घनिभुत छलफल गरिरहेका छन् ।
