नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्ने फैसला पुनरवलोकन गर्न पुष्पकमल दाहाल प्रचण्डले दिएको मुद्दा (निवेदन) को सुनुवाइ अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ। अदालत स्रोतका अनुसार प्रचण्डले दिएको पुनरवलोकन निवेदनलाई निस्सा दिनेरनदिनेबारे आज निर्णय गरिने भएको हो। अदालतले निस्सा दिए मात्र मुद्दा अगाडि बढ्छ।
आफ्नो नेकपाले मान्यता पाउनुपर्ने माग राखी ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दा गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै पछि दर्ता नेकपा खारेज तथा यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम गरिदिएको हो।
यसैमा चित्त नबुझेर तत्कालीन नेकपाका एक जना अध्यक्ष एवं अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार फैसला पुनरवलोकन माग गर्दै निवेदन दिएका हुन्। त्यही निवेदनबमोजिम पुनरवलोकन मुद्दा अगाडि बढाउनेरनबढाउनेबारे सर्वोच्च अदालतले आज टुंगो लगाउने बताइएको छ।
