नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।

नेकपा एमालेले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।
गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।
नेता नेपाल र रावलले चैत १२ गते र नेता भुसाल र पाण्डेले चैत १७ गते स्पष्टीकरण पठाएका थिए । बिहीबार निलम्बन गरिएको भनी पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताएका छन् ।
स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको पनि ओलीले उल्लेख गरेका छन् ।
