नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।

प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन् । बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन्।
ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।’
ओलीले काठमाडौँमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले मेलम्चीको पानी आएको समाचार नदिने तर प्रधानमन्त्रीको राजीनामा मागियो भनेर हेडलाइन बनाउने गरेको भन्दै आक्रोश पोखे।
आज शिलान्यास भएकासडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।
