नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । मुख्यमन्त्री पोखरेललाई अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चावीच गठबन्धन बनाउने प्रयास भइरहेको छ । त्यसका लागि कांग्रेसले आन्तरिक छलफल तीब्र पारेको छ ।
कांग्रेस स्रोतका अनुसार, विपक्षी दलहरुवीच सहमति जुटेको अवस्थामा कांग्रेसको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता हुनेछ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न विपक्षी दलहरुवीच गोप्य र अनौपचारिक छलफल तीब्र पारिएका छन् । टुंगो लागि नसकेको भए पनि एक हप्ताभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने गरी तयारी भइरहेको कांग्रेस स्रोतले बतायो ।
माओवादी केन्द्र, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री कांग्रेसले पाउने सहमति अनुसार अविश्वास प्रस्ताव दर्ता हुन लागेको हो । लुम्बिनीको प्रदेशसभा ८७ सदस्यीय छ । त्यसमा ४१ जना संसाद एमालेका छन् । बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा माओवादी दोस्रो दलको रुपमा उपस्थित छ । माओवादी केन्द्रसँग २० सांसद छन् भने तेस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।
गठबन्धन सफल भएमा एमालेविरुद्ध ४६ सांसद एकठाउँ हुनेछन् । मुख्यमन्त्री स्वयम् अल्पमतमा पर्नेछन् । तर, अहिले माओवादी केन्द्रका दुईजना सांसदको पद खारेजी प्रक्रियामा छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका कारण सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको सांसद पद खारेजी प्रक्रियामा छ । जसले मुख्यमन्त्री पोखरेलविरुद्धको समीकरणका लागि केही समस्या भने हुनेछ ।
