कर्णाली प्रदेशका मुख्यमन्त्री शाही अल्पमतमा

कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आफ्नै नेतृत्वमा सरकार बनाउने योजनाअनुसार एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष सामूहिक राजीनामा दिएका हुन् ।

तीन मन्त्रीको राजीनामासँगै कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि एमाले माधव नेपाल पक्षका नेताहरूले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउँदै आएका थिए ।



‘हामीले मुख्यमन्त्रीलाई राजीनामा पेस गरेका छौँ,’ आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले भने, ‘संसदीय दलको निर्णयअनुसार नै राजीनामा दिएका हौँ ।’ सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताएपछि आफूहरू पूर्ववत् पार्टीमै फर्किएको र माओवादीलाई दिएको समर्थन फिर्ता लिएको ज्वालाले बताए । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ,’ उनले भने, ‘अब स्वतः माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ ।’ आफ्ना विचार, धारणा र निश्चित अडान रहेका कारण पार्टीमै बसेर संघर्ष गर्ने ज्वालाले बताए । ‘हाम्रा निश्चित मूल्य र मान्यता छन्,’ उनले भने, ‘हामी ती मूल्य र मान्यतालाई पार्टीभित्र र पार्टीमै रहेर संघर्ष गर्नेछौँ ।’ केन्द्रमा विवाद भए पनि कर्णाली प्रदेशमा भने एमालेका केपी ओली र माधव नेपाल दुवै पक्षका प्रदेश सांसदहरूले सहमति गरेरै नयाँ सरकार बनाउने तयारी गरेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रले सहज बाटो अपनाउने बताएको छ । समर्थन फिर्ता लिएको विषयमा अहिले पार्टी र संसदीय दलमा छलफलका क्रममा रहेको उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् । ‘पार्टी र संसदीय दलका नेताहरूबीच अहिले छलफल भइरहेको छ,’ उनले भनिन्, ‘राजीनामा दिने वा विश्वास मत लिने दुई विकल्पबाहेक अरू अब रहेन ।’ पार्टीमा अहिले सहज बाटो अपनाउने विषयमा छलफल भइरहेको माओवादी केन्द्रका प्रदेश सभा सदस्य विन्दमान विष्टले बताए । ‘हामी सहज बाटो अपनाउँछौँ,’ उनले भने, ‘यस विषयमा अहिले पार्टीमा छलफल चलिरहेको छ ।’

कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ । एमालेमा २० सांसद छन् । उसलाई सरकार बनाउन एक सांसद अपुग छ । माओवादी केन्द्रका १३ सांसदमध्ये दैलेखका धर्मराज रेग्मीलाई सांसद पदबाट हटाएको जानकारी प्रदेश सभालाई गराइसकेपछि अब माओवादीका १२ सांसद छन् । कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । एमालेलाई नयाँ सरकार बनाउन राप्रपाको समर्थन लिए पुग्छ ।

सम्बन्धित समाचार