आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय अलपत्र

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्ने नेतृत्वमा सरकार बनाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णय अलपत्र परेको छ। ६ दिनअघि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने निर्णय औपचारिक निर्णय लिए पनि कार्यान्वयनका गर्न नेताहरुले बेवास्ता गरेका छन्।

६ दिनको अवधिमा सरकार गठनका लागि हुुनुपर्ने प्रयास नेतृत्वबाट हुन नसकेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई विस्थापित गरेर नयाँ सरकार बनाउन सभापति देउवालाई पटक पटक आग्रह गरे पनि उनी चासो दिएका थिएनन्।



पार्टीभित्रैबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दबाब दिएपछि देउवाले निर्णय गराए पनि काम भने त्यसअनुसार नभएको नेताहरु नै स्वीकार गर्छन्। अनौपचारिक रुपमा जसपासँग कुरा गर्न नेता पौडेललाई जिम्मेवारी दिए पनि उनी सभापतिले नै चासो नदिँदा काम ठोस रुपमा अघि बढ्न नसकेको गुनासो गर्छन्।

उनले भने, ‘मैले महन्थ ठाकुरसँग कुरा गर्दा सकारात्मक नै हुनुहुन्छ। अहिले खासै केही प्रगति भएको छैन। अरु के के भयो सभापतिलाई सोध्नु पर्छ, गर्‍या निर्णय त्यही हो। उहाँलाई मैले हाम्रो सभापतिज्यूसँग कुरा गर्नुहोस् भनेको छु। कुरा त गर्‍या हो, उहाँले पनि अलिकति चासो लिनुपर्‍यो नि।’

सभापति देउवा भने अझै पनि आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नरहेकोमा स्पष्ट रहेको उनी निकट नेताहरु बताउँछन्। देउवा निकट एक नेता भन्छन्, ‘यो निर्णय पौडेलजीकै दबाबका कारण भएको हो। एक हिसाबले भन्दा उहाँलाई थामथुम पार्न गरिएको हो।’

ओली नेतृत्वको सरकार ढाल्न कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्दा अंकगणितीय हिसाबले पुग्ने देखिएको पनि त्यो भरपर्दो नभएको देउवाको बुझाइ छ। प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३२ जना गरी सम्मा १४१ जना मात्रै सांसद पुगेकाले उक्त संख्या भरपर्दो नभएको संस्थापन पक्षको दाबी छ।

अर्कोतर्फ ओली नेतृत्वको सरकारलाई जसपाले समर्थन गर्ने विषयमा कुरा निकै अघि बढिसकेको विश्लेषण सभापति देउवाले गरेको निकट नेता बताउँछन्। संस्थापन पक्षका केन्द्रीय सदस्य अहतर कमाल मुसलमान अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था नै नरहेको दाबी गर्छन्।

 

सम्बन्धित समाचार