नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद आएर बहस गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर बाहिर भाषण गर्दै हिडेको भन्दै आक्रोश पोखे ।
उनले भने,‘प्रधानमन्त्रीलाई म संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु ।’ उनले संसदबाहिर प्रधानमन्त्री अनेकौ भाषण गर्दै हिडेको तर संसदमा आएर बहस गर्ने हिम्मत नराखेको बताए । उनले भने,‘संसदबाहिर हुक्के चिलिमे राखेर माथि बसेर गफ दिने अनि तल बसेर ताली पिट्ने ? संसदमा हामी बालकविता सुनाएर बस्ने होइन, संसदलाई छलेर भागेर होइन ।’
सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे । उनले भने,‘ प्रधानमन्त्रीलाई अहिले बाटो पुलको शिलान्यश गर्न भ्याइनभ्याई छ । प्रधानमन्त्रीलाई चमत्कार गरेको भनेर चरम अल्पज्ञान, ढाँट्ने बानी लागेको छ । २०७४ साल चैतको २ गते खानेपानीमन्त्री आएपछि २०७५ साल असोजसम्म ठेकेदारसम्म मोलमोलाई मिलेन । ९ महिना आयोजनाको कामको सिन्को पनि नभाचेर अहिले यत्रो फुर्ति रु २३ वर्ष आयोजनाका लागि समय लाग्दा माफी माग्नुपर्दैन ? श्रेय लिने होडबाजी ? धारा खोलेर, बाल्टी, कहिले उठेर कहिले बसेर उद्घाटन गर्ने ? तमासा गर्ने ?’
सांसद थापाले केहीदिन भित्रमा प्रधानमन्त्रीले तामाकोशी जलपिवद्युत आयोजनामा समेत उद्घाटनको यस्तै तमासा देखाउने दाबी गरे । तर राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान नसकेको बताए ।
