नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ एमाले प्रवेश गरेर मन्त्री भएकाहरूको सांसद पद खोसिए पनि मन्त्री पद भने कायमै हुने भएको छ । सांसद पद खोसिएपछि उनीहरूलाई पुनर्नियुक्ति दिएर मन्त्रीमा निरन्तरता दिने बालुवाटारको तयारी छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सांसद पद गुमाएका मन्त्रीहरूलाई शुक्रबार साँझ ५ बजे शपथ गराउने कार्यक्रम रहेको बताए ।
प्रतिनिधिसभाको सदस्य पदमुक्त भएपछि मन्त्री पद पनि नरहने भएकाले उनीहरूलाई पुनर्नियुक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । त्यसपछि उनीहरू छ महिनासम्म मन्त्री बन्न पाउनेछन् । प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति पनि ६ महिनासम्मका लागि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।
