नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार निर्माणका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमक्ष प्रस्ताव राखेका छन् । आफ्नै निवास बुढानिलकण्ठमा तीन दलको बैठक बोलएर देउवाले उक्त प्रस्ताव राखेका हुन् ।
शुक्रबार बुढानिलकण्ठमा भएको बैठकमा देउवाले अबको सरकार चुनावी सरकार हुने र केपी शर्मा ओलीको नेतृत्वमा चुनाव भए लोकतान्त्रिक हुन नसक्ने भन्दै वैकल्पिक सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
पार्टी केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार नै देउवाले बाँकी दुई दलका नेताहरूलाई बोलाएर सरकार गठनको औपचारिक पहल लिएका हुन् । देउवाले सरकार निर्माणको प्रस्ताव बाँकी दुई दलका नेताहरूलाई राखेको कुरा उल्लेख गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेस, माओवादी र जसपाबीचमा सत्ता समीकरणबारे छलफल सम्पन्न भएको छ । यो प्रथम औपचारिक बैठक हो । कांग्रेस पार्टीको केन्द्रीय कमिटी बैठकले नेतृत्व लिने गरी पहल गर्नका लागि गरेको निर्णयअनुसार औपचारिक रूपमा नै प्रस्ताव राख्दछौं भनेर सभापतिले भन्नुभयो । सभापतिले यो प्रस्तावउपर आफ्नो धारणापछि निर्णय र निष्कर्षमा पुगौं भन्नुभयो ।’
कांग्रेसको प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिएको शर्माको भनाइ थियो । पहिलादेखि नै ओलीको विकल्प प्रतिपक्षी दलहरू मिलेर दिनुपर्ने बताइरहेको माओवादीले तीन दलको बैठकमा पनि देउवाको प्रस्तावलाई स्वीकार गरेको थियो । ‘प्रस्तावलाई माओवादीले सकारात्मक रूपमा लिनुका अलवा सुरुवातदेखि नै सकारात्मक छौं भन्ने प्रस्ट धारणा आयो,’ शर्माले भने । उनका अनुसार जसपाले भने सरकार निर्माणका विषयमा छलफल गरेर निर्णय दिने बताएको छ ।
बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले सरकार गठनबारे पार्टीमा छलफल हुन बाँकी रहेको बताए । ‘सरकारको बारेमा निर्णय खोज्न छलफल गर्न बाँकी छ । उहाँले सरकार बनाउने, कांग्रेसको सरकार बनाउने भन्नुभयो । हामीले यस विषयमा छलफल गरेका छैनौं भन्यौं,’ ठाकुरले भने ।
जसपाले उक्त विषयमा पछि निर्णय लिने भनेर आफूहरूका केही मुद्दा रहेको पनि तीन दलको बैठकमा कुरा राखेको थियो । आन्दोलनका क्रममा राज्यले लगाएका कार्यकर्तामाथिका मुद्दा खारेजी र बन्दी रिहाइको माग जसपाले दोहोर्याएको थियो । जवाफमा कांग्रेस र माओवादीका नेताहरूले आफूहरू सकारात्मक रहेको भनेका थिए ।
